>
रहमतुल्ला मियाँ>
इस्लामका पाँच आधार स्तम्भहरुमध्येको रोजा पनि एक हो । अरबी पात्रोको नबौं महिना रमजानमा विश्वभरका मुस्लिमहरु एकैसाथ रोजा (उपवास) बस्दछन् । अहिले अरबी पात्रोको हिजरी सम्वत् १४४४ चलिरहेको छ । तर, हिजरी सम्बत २ देखि रमजान महिनाको रोजा (उपवास) चलिरहेको छ ।>
हरेक वालिग, समझदार महिला तथा पुरुषमाथि अनिवार्य गरिएको हुन्छ । तर वृद्धवृद्धा, अशक्त वा दीर्घ रोगी, यात्री, गर्भवती, रजश्वला भएकी, सुत्केरी वा दुध चुसाउने महिलाहरुका लागि रोजा अनिवार्य गरिएको छैन ।>
अरबी भाषामा रोजालाई “सौम” भनिन्छ जसको अर्थ हुन्छ “मौन” बस्नु । रमजान महिनाको रोजामा कुनै विशेष समयमा केही वस्तुहरुबाट निश्चित शर्तहरुका साथ सूर्याेदय हुनुभन्दा पूर्वदेखि सूर्यास्तसम्म विषेशतः खानपिन र सम्भोगबाट चित्तलाई अलग राख्नु नै रोजा हो ।>
उद्देश्य>
रोजाको उद्देश्य दर्शाउदै कुरआन भन्दछ, “हे विश्वासीहरु ! तिमीहरुमाथि रोजा अनिवार्य गरिएको छ जसरी तिमीभन्दा पहिलाका मानिसहरुमाथि गरिएको थियो जसबाट तिमीहरु ईशपरायण बन्नेछौ ।” (कुर्आन, २ः१८३)>
रोजाको वास्तविक उद्देश्य दिनभर खानपिनलाई छोड्नु मात्रै होइन । यसले मानिसमा आत्मसुद्धि, सन्तुष्टि र अल्लाहको भय उत्पन्न गराउँदछ । जसरी यो महिनामा कुविचार र कुकर्मबाट मानिस बच्छ, त्यही निरन्तरता अन्य ११ महिनामा पनि हुनुपर्ने व्यावहारिक प्रशिक्षण रोजाले दिन्छ । रोजाले मानिसलाई भलो र सदाचारी बन्न सहायता गर्छ ।>
रोजा मनुष्यमा ईशपरायणता जन्माउने अत्यन्तै महत्वपूर्ण माध्यम हो । रोजाबाट मानिसको आत्मिक एवं चारित्रिक उत्थान हुने मुस्लिमहरु विश्वास गर्दछन् । रमजान दान, प्रतिदान र क्षमादानको महिना हो । यसमा गरिने प्रत्येक सुकर्म अन्य दिनको तुलनामा सात सय गुना प्रतिदान मिल्ने विश्वास गरिन्छ ।>
>
सट्टा रोजा>
रमजानको महिनामा विरामी परेका वा यात्रामा रहेकाहरुलाई रोजा नरहने अधिकार छ । तर निको भइसकेपछि वा यात्रा समाप्त भएपछि अर्काे वर्षको रमजान प्रारम्भ हुनुपूर्व नै छुटेको जति दिनहरुको रोजा राख्नुपर्दछ । महिला रजश्वला भएको वा सुत्केरी भएपछि पवित्र नभएसम्म रोजा राख्नु हुँदैन ।>
यस अवस्थामा छुटेका रोजाहरु पनि उनीहरुले अर्काे रमजान पूर्व नै राखि सक्नुपर्छ । कमजोर वृद्धवृद्धा वा दीर्घ रोगीले रोजा राख्न नसके तिनीहरुको लागि सट्टा रोजा राख्न अनिवार्य गरिएको हुँदैन । उनीहरुले छुटेको प्रत्येक दिनको रोजाको अनुपातमा एक गरीबलाई भोजन गराइदिनुपर्छ । तर, त्यस्तो गरीब गुरुवालाई खाना खुवाउने सामथ्र्य छैन भने पर्दैन ।>
सेहरी>
रातको आखिरी पहरमा सूर्याेदय हुनुपूर्व रोजाको नियतबाट खानपिन गर्नुलाई सेहरी भनिन्छ । सेहरी खानमा धेरै प्रतिदान र अभिवृद्धि रहेको बताइन्छ ।>
इफ्तार>
सूर्यास्त पश्चात् रोजा तोड्नका लागि केही खानपिन गर्नुलाई इफ्तार भनिन्छ । इफ्तार गर्नुमा ढिला गर्नु हुन्न । भनिन्छ, व्रत्तालुहरुको पुकार इफ्तारको समयमा स्वीकार हुन्छ ।>
तरावीह>
रमजान महिनाको रातको समयमा विशेष किसिमको नमाज पढिन्छ जसलाई तरावीह भनिन्छ ।>
एतकाफ>
रमजान महिनालाई १०–१० दिन गरी तीन भागमा विभाजन गरिएको छ । प्रत्येक भागलाई “अशरा” भनिन्छ । पहिलो अशरा रहमत (दयालुता) को, दोस्रो मगफिरत (मुक्ति) को र तेस्रो स्वर्गमा स्थान बनाउने हुन्छ । व्रत्तालुहरु गाउँ वा सहरका मस्जिदहरुमा रमजानको अन्तिम अशरामा एतकाफ (अल्लाहको उपासनाका लागि एकान्तवास) मा बस्दछन् ।>
शबे कद्र>
रमजान महिनाको आखिरी भागमा “शबे कद्र”मा मानव जातिको मार्गदर्शनको लागि अल्लाहको तर्फबाट हजरत मुहम्मदमाथि कुरआन अवतरित गर्न प्रारम्भ गरिएको थियो । यसलाई “लैलतुल कद्र” अर्थात् “सम्मानीत रात” भनिन्छ । यो दिव्य रात्री हजारौं महिनाभन्दा पनि उत्तम भएको विश्वास गरिन्छ ।>
कुरआनको अवतरण>
रोजा र कुरआनबीच घनिष्ठ सम्बन्ध रहेको छ । रमजान त्यो महिना हो जसमा कुरआन अवतरित प्रारम्भ गरिएको थियो । कुरआन भन्छ, “रमजान त्यो महिना हो जसमा कुरआन अवतरित गरियो, मानिसहरुको मार्गदर्शनका लागि, सत्य र असत्यको अन्तरका प्रमाणहरुको साथ ।>
अतः तिमीहरुमध्ये जो कोही यस महिनालाई पाउँछौं भने यस महिनाको रोजा राख ।” अल्लाहले कुरआन हजरत मुहम्मदमाथि १७ अगस्त, सन् ६१० बाट अवतरण हुन प्रारम्भ भयो भने मार्च, सन् ६३२ सम्म यो सिलसिलाको पूर्ण भयो ।>
सदका–ए–फित्र>
सदका–ए–फित्र, उस्र र जकात (धर्मादान) द्वारा इस्लाम सामाजिक न्यायको व्यावहारिक आर्थिक उदाहरण प्रस्तुत गर्दछ । ईदको नमाजभन्दा पहिला नै सदका–ए–फित्र दिनु पर्ने अनिवार्य गरिएको छ । सदका–ए–फित्रबाट संकलित रकम गरीब, मजदूर, अनाथ, बेसहारा मानिसहरुलाई दिनुपर्दछ ।>
पौने २ सेर गहँु वा साँढे ३ सेर जौं वा यसको पिठो वा यसको मूल्य वा यसको मूल्य बराबरको कुनै अनाज प्रति व्यक्तिको दरले गरिबलाई दिनुपर्ने हुन्छ । यस हिसाबले काठमाडौंमा यसको मात्रा प्रति व्यक्ति रु. ७५।– तोकिएको छ ।>
जकात
जकातको अर्थ पवित्र गर्नु वा असल पार्नु हो । कुनै व्यक्तिसँग भएको सुुन, चाँदी, अन्न वा जनावर इस्लामी विधिशास्त्रले तोकेको सीमा पुगिसकेको छ भने त्यस्तो व्यक्तिका सञ्चित रकमको निश्चित परिणाममा समुदायको अधिकार हुन जान्छ । यसलाई जकात भनिन्छ । जकात दिनको लागि प्रचलित चाँदीको मूल्यको हद साढे ५२ तोला वा साढे ७ तोला वा यसको मूल्य बराबरको नगद रुपैयाँ एक वर्षसम्म सञ्चित रहिरह्यो भने त्यसको मालिकले १ सयको २.५ प्रतिशतका दरले जकात निकाल्नु पर्दछ ।>
उपसंहार
समय वितेकै थाहै हुँदैन रमजानको २९ वा ३० दिनको समय वितिसकेको हुन्छ । त्यसै दिन अरबी पात्रोको १० औं महिना सौवालको खुर्पे चन्द्रमा देखिसकेको हुन्छ । यो खुर्पे चन्द्रमाले रमजानको समाप्ती र ईदुल फित्रको खुशीयालीको संकेत दिन्छ ।>
यसैले सौवाल महिनाको पहिलो तारिखमा “ईदुल फित्र” पर्व धुमधामसँग मनाउछन् । नेपाल सरकारले हरेक मुस्लिमहरुको महान ईदुल फित्र र ईदुल अजहामा सार्वजनिक विदा दिँदै आइरहेको छ । रमजानको हार्दिक शुभकामना !>
प्रतिक्रियाको लागि:>
Email : rtmiyan@gmail.com>>