>
काठमाडौँमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलामा नेपालले पहिलो जित दर्ता गरेको छ । शुक्रबार भएको खेलमा नामिबियालाई तीन रनले पराजित गर्दै नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।>
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै१८० रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले ३७ बलमा एक चौका र चार छक्काको मद्दतमा अविजित रहँदै ५५ रनको अर्धशतकीय पारी खेले भने आरिफ शेखले ३१ रन बनाए ।>
>
१८१ रनको लक्ष्य लिएर मैदान उत्रेको नामिबिया निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७७ रन मात्र बनाउन सक्यो । नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहेकामा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै नामिबियालाई आठ रन दिएपछि नेपालले रोमान्चक जित हात पारेको हो ।>
>
नामिबियाका लागि कप्तान जेजे स्मिथले ५० रन्को अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जान फ्रिलिङ्कले ३७ रन जोड्दा जेपी कोट्जेले २५ रन बनाए । यस्तै जेन ग्रिनले २३ रनमा अविजित रहँदा माइकल भान लिङ्गेनले १० र रुबेन ट्रम्पलम्यानले १४ रन जोडे ।>
नेपालका लागि करण केसी, सोमपाल कामी र कप्तान रोहित कुमार पौडेलले समान दुई-दुई विकेट लिए भने अभिनाश बोहोराको भागमा एक विकेट रह्यो । जितसँगै नेपाल ३ खेलमा दुई अङ्क जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने समान दुई अङ्क नै रहेको नामिबिया रनरेटमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ । नेदरल्यान्डसको समान खेलमा चार अङक जोड्दै शीर्ष स्थानमा छ ।>
नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो भने नामिबिया बिहीबार भएको खेलमा नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो । अब नेपालले भोलि नेदरल्यान्डसँग खल्नेछ ।>
>
>>
