काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेरै जात्रास्थलमा पुगेका छन् । इन्द्रजात्रामा पहिलोपटक राष्ट्रप्रमुख हिँडेर पुगेका हुन् ।>
>
हनुमानढोका दरबार क्षेत्र रहेको वसन्तपुरबाट सुरु हुने इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति पौडेल जुद्ध शालिकमै गाडीबाट झरेर हिँड्दै पुगेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।>
“सम्माननीय राष्ट्रपति जुद्ध शालिकमा गाडीबाट ओर्लिनुभयो र सर्वसाधारणलाई अभिवादन गर्दै पैदल काष्ठमण्डप पुग्नुभयो,” राष्ट्रिपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बाह्रखरीसँग भने, “उहाँले सर्वसाधारणलाई दुःख हुने काम गर्नु हुँदैन भनेर पैदल आउनुभएको हो ।”>
राष्ट्रपति पौडेलले यसअघि नै सर्वसाधारणको बाक्लो उपस्थिति रहने जात्रामा आफू सर्वसाधारणलाई दुःख नहुने गरी सहभागी हुने बताएको थियो ।>
सुरक्षा संयन्त्रले पैदल जाँदा सुरक्षा ‘प्रोटोकल मेन्टेन’ नहुने भन्दै राष्ट्रपतिलाई गाडीमै जात्रास्थलसम्म पुग्न अनुरोध गरेका थियो । तर, राष्ट्रपतिले भने त्यसो गर्दा सर्वसाधारणलाई सास्ती हुने भन्दै हिँडेर जाने अडान राखेका थिए ।>
>>