त्यो शनिबार अर्थात् ७ अक्टोबरमा सामाजिक उद्यमशीलताका लागि दिइने प्रतिष्ठित हल्ट पुरस्कारका लागि अन्तर्वार्ता दिन सकिनँ । दुर्भाग्य, पुरस्कारको संक्षिप्त सूचीमा परेका अन्य दाबेदार पनि अन्तर्वार्तामा सरिक हुन सकेनन् । शनिबार ७ अक्टोबरको स्मृति ताजै छ ।>
म भयग्रस्त भएर उठेकी थिएँ र जसै शक्तिशाली रकेटका थर्कमान आवाज गुन्जिरहेको थियो, मेरो मुटु तीव्र गतिमा धड्किरहेको थियो । र, म बत्तिँदै घरको करिडोरमा पुगेकी थिएँ, जहाँ मेरा परिवारका सदस्य जम्मा भएका थिए । सबै परिजनको अनुहारमा त्रास र अनिश्चितता देखिन्थ्यो । बिहान केही समयपछि बत्ती आएर इन्टरनेट चलेपछि हमासले इजरायलतर्फ कैयौँ रकेट प्रहार गरेको र हमासका लडाकुले गाजावरपरका सीमामा रहेको बारलाई भत्काएको थाहा पाइयो । >
>
७० वर्षमा पहिलोपटक उल्लेख्य संख्यामा प्यालेस्टिनी स्वतन्त्रता सेनानीले प्यालेस्टाइनका कब्जा गरिएका भूमिमा पाइला टेक्न पाएका थिए । यस्तो पनि हुन सक्छ ? के हामी हाम्रो मातृभूमिलाई मुक्त गरिरहेका हौँ ? के हामी आफ्ना वास्तविक गाउँ र सहरमा फर्किन पाउँछौँ ? जस्ता प्रश्न सम्झिँदै हामी चकित परेका थियौँ । >
हमासको आक्रमणले कैयौँ मानिसलाई क्रुद्ध बनाएको मैले बुझेकी छु । रक्तपात कसैलाई पनि मन पर्दैन । तर, के यी सबैलाई इजरायल स्थापनाको आधार नै प्यालेस्टिनी जनताको उत्पीडन हो भन्ने थाहा छ ? सन् १९४८ को प्यालेस्टिनीमाथिको उत्पीडन एवं हिंसा (नकबा) मा आठ लाख प्यालेस्टिनी विस्थापित भएका थिए । भाग्यवश त्यसवेला मेरा हजुरबुबा–हजुरआमा बाँचेका थिए, तर उनीहरूलाई पुख्र्यौली गाउँ कस्तिनाबाट (जेरुसलेम र गाजाबीचको तटीय क्षेत्रको एक गाउँ) जबर्जस्ती गाजामा स्थानान्तरित गरिएको थियो, जहाँ मेरा बुबा र उहाँका आठ भाइ–बहिनी जन्मेका थिए ।>
मेरा बुबापुस्ता प्यालेस्टिनीमाथि मच्चाइएको नरसंहार, आतंक र हत्याको शृंखलाका साक्षी बनेका थिए । र, अहिले पनि यो जारी छ । हरेक वर्ष बालबालिका र महिलासहित कैयौँ प्यालेस्टिनी थुनिन्छन्, घाइते हुन्छन् र मारिन्छन् । नगण्य संख्यामा इजरायली पनि हताहत हुन्छन् । यी दुवै हताहतीको परिस्थिति भिन्न छ । इजरायली अपर्थाइड (संस्थागत नश्लभेद एवं अलगाव लागू गर्ने) राज्यका शासक हुन् भने प्यालेस्टिनी जनता आफ्नो भूमि र परिवारका लागि लडिरहेका छन् । >
कुनै वेला नेल्सन मन्डेलालाई पनि आतंककारी करार गरिएजस्तै स्वतन्त्रता सेनानीलाई आतंककारीको संज्ञा दिनु कुनै नौलो होइन >
म र मेरो परिवार बसोवास गर्ने गाजापट्टीका सन्दर्भमा मौजुदा द्वन्द्वभन्दा पहिले अर्थात् सन् २००७ देखि नै इजरायलले लकडाउन थोपरेको छ । हामीलाई अमानवीकृत गरिएको छ । गाजापट्टीभन्दा बाहिर हामीलाई सीमित रूपमा मात्रै हिँडडुल गर्न दिइन्छ र हामीले दैनिक रूपमा औषधी, इन्धन र आधारभूत आवश्यकताको ठूलो अभाव व्यहोरिरहेका छौँ । हामीले दिनमा केही घन्टा मात्रै विद्युत्को सुविधा पाएका छौँ र उपलब्ध हावापानी पनि निकै प्रदूषित छ । हामीले अहिलेसम्म पाँच मुख्य आक्रमण झेलेका छौँ र हामीसँग इजरायलीको जस्तो बसोवास र सुरक्षाको व्यवस्था छैन ।>
हामीमाथि अन्तर्राष्ट्रिय रूपमा प्रतिबन्ध लागेका हातहतियार र रकेट प्रहार गरिँदा पनि यसबारे कसैको चासो छैन ।
गाजापट्टीमा १७ वर्षदेखिको चरम एवं नृशंस उत्पीडन व्यहोरेका
प्यालेस्टिनीमाझ हमासले स्वतन्त्रताको आशा जगाएको थियो । तर, आशामाथि
तुषारापात हुन बेर लागेन । लगत्तै आशा शत्रुता, निराशा र यातनामा परिणत
भएको छ ।>
अमेरिकाले हमासको निन्दा गरेको छ भने इजरायललाई पीडित देखाएर उसको समर्थन गरेको छ । तर, इजरायल एक धूर्त र आत्मरतियुक्त राज्य हो, जसले आफूलाई पीडित देखाउँछ र प्यालेस्टिनी संघर्षलाई समर्थन गर्ने मुलुकलाई धम्की दिन्छ । विश्वले प्यालेस्टिनी संघर्षलाई दीर्घकालीन मुक्तिको संघर्षका रूपमा बुझ्न आवश्यक छ ।>
अहिलेको गाजामाथिको आक्रमणमा इजरायलले हाम्रा सबै अधिकार उल्लंघन गरेको छ । इजरायलले यो आलेख लेखुन्जेल सात हजार २८ प्यालेस्टिनीको हत्या गरिसकेको छ, जसमा दुई हजार नौ सय १३ बालबालिका छन् । इजरायलले हालसम्म २० जना पत्रकारको हत्या गरेको छ । ३८ हजार चार सय २० घर ध्वस्त बनाइएका छन् भने १२ लाख ११ हजार घरमा क्षति पुगेको छ । नतिजा १३ लाख मानिस विस्थापित भएका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार एम्बुलेन्स, स्वास्थ्य श्रमिक, विद्यालय, क्लिनिक र अन्य संरचना पनि तारो बनाइएका छन् ।>
हामी प्यालेस्टिनी दक्षिण अफ्रिकाको अपर्थाइड राज्यको पतनबाट प्रेरणा लिन्छौँ । यदि बहादुर प्यालेस्टिनी स्वतन्त्रता सेनानीलाई आतंककारीको संज्ञा दिइन्छ भने नेल्सन मन्डेलालाई पनि कुनै वेला आतंककारीको संज्ञा दिइएको थियो भन्ने स्मरण गर्न आवश्यक छ । मलाई पनि युद्ध मन पर्दैन र म पनि अन्य प्यालेस्टिनीझैँ शान्ति रुचाउँछु, तर मेरो घरको ढोका फोडेर ‘तैँले यो ठाउँ छोड्नैपर्छ । ईश्वरले यो ठाउँ मेरा लागि बनाएको हो’ भनेर कसैले बन्दुक ताक्छ भने निहत्था भए पनि प्रतिरोध गरिन्छ । हामी कमजोर भए पनि आफ्नो मातृभूमिका लागि संघर्ष गर्न छोड्नेछैनौँ । >
हामी सारा विश्वलाई हाम्रो संघर्ष बुझ्न र
सहयोग गर्न आग्रह गर्छौं । हाम्रो न्यायको लडाइँ र आत्म–निर्णयको अधिकारको
संज्ञान लिन आग्रह गर्छौं । हामी प्यालेस्टिनी राष्ट्रसंघको संकल्प १९४
अन्तर्गत विश्वभरका हाम्रा शरणार्थी आफ्नो मातृभूमिमा स्वतन्त्र फर्किन
पाऊन् भन्ने माग गर्छौं । हामी स्वतन्त्रता, शान्ति र हाम्रो मुद्दाका
मामिलामा न्याय चाहन्छौँ । हामीविरुद्ध असंख्य अपराध गरेको इजरायलले दण्ड
पाओस् भन्ने चाहन्छौँ । यी आधारभूत अधिकार माग गर्नु अपराध हो र ?
(साफी स्वतन्त्र पत्रकार एवं मानवअधिकार अभियन्ता हुन्) मोन्डोविसबाट
>
>
>>